काठमाडौं — प्रा. डा. अमित थापाको अध्यक्षतामा नेपाल एपिलेप्सी सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ। छारे रोग (एपिलेप्सी) को उपचार सेवा सुदृढ गर्ने, स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकास गर्ने, अनुसन्धान तथा जनचेतना अभिवृद्धि गर्ने र छारे रोगसँग जोडिएको सामाजिक लाञ्छना तथा गलत धारणा न्यूनीकरण गर्ने नयाँ नेतृत्वको प्राथमिकता छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रा. डा. गोपाल सेढाईं, महासचिवमा डा. राजु पौड्याल र कोषाध्यक्षमा डा. रिजु दाहाल छन्। सदस्यमा डा. नरेश खर्बुजा, डा. सुमन भट्टराई र डा. प्रितम गुरुङ छन्। २०५५ सालमा स्थापना भएको नेपाल एपिलेप्सी सोसाइटी छारे रोगसम्बन्धी नेपालको सबैभन्दा पुरानो व्यावसायिक संस्था हो। सोसाइटीले स्थापनाकालदेखि वैज्ञानिक सम्मेलन, स्वास्थ्यकर्मीका लागि तालिम, क्षमता अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रममार्फत छारे रोगको उपचार सेवा सुधारमा योगदान दिँदै आएको छ।
नयाँ नेतृत्वले सबैका लागि सहज र गुणस्तरीय छारे रोगको उपचार सेवा उपलब्ध गराउने, स्वास्थ्यकर्मीको निरन्तर व्यावसायिक शिक्षा, विभिन्न विधाका स्वास्थ्यकर्मीबीच सहकार्य, अनुसन्धान तथा नयाँ उपचार विधिको विकास र छारे रोगप्रतिको सामाजिक लाञ्छना घटाउने विषयलाई प्राथमिकतामा राखेको छ। अध्यक्ष प्रा. डा. थापाले छारे रोगसँग जोडिएका चिकित्सा तथा सामाजिक चुनौती समाधानका लागि स्वास्थ्यकर्मी, बिरामी र उनीहरूका परिवार, अस्पताल तथा शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उद्योग र अन्तर्राष्ट्रिय साझेदारलाई एकै ठाउँमा ल्याएर काम गर्ने बताए।
सोसाइटीले ठूला सहरबाहिर पनि छारे रोगसम्बन्धी शिक्षा र तालिमका अवसर विस्तार गर्ने, युवा स्वास्थ्यकर्मी तथा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने, संस्थागत सञ्जाल बलियो बनाउने तथा रोग पहिचान गर्ने सेवा, औषधि र आधुनिक उपचारमा पहुँच सुधारका लागि पहल गर्ने जनाएको छ।
‘छारे रोगको उपचार सेवा एउटा पेशा वा एउटा संस्थाको प्रयासले मात्र सुदृढ हुन सक्दैन। यसका लागि बिरामी, स्वास्थ्यकर्मी, संस्था र साझेदारबीच समन्वय आवश्यक हुन्छ,’ अध्यक्ष प्रा. डा. थापाले भने। उनले छारे रोगप्रतिको सामाजिक लाञ्छना घटाउने विषयलाई पनि सोसाइटीको महत्वपूर्ण कामका रूपमा अघि बढाइने बताए। यसका लागि विद्यालय, कार्यस्थल, परिवार र समुदायमा छारे रोगबारे थप जनचेतना आवश्यक रहेको उनको भनाइ छ।
प्रा. डा. थापा न्युरोसर्जरीका प्राध्यापक हुन्। उनले काठमाडौं मेडिकल कलेजमा न्युरोसर्जरीका संस्थापक प्रमुखका रूपमा तथा ग्रान्डे इन्टरनेसनल अस्पताल र फ्रन्टलाइन अस्पतालमा न्युरोसाइन्सेसका संस्थापक प्रमुखका रूपमा काम गरेका छन्।
सोसाइटीको नेतृत्व परिवर्तन हालै सम्पन्न हिमालयन एपिलेप्सी कांग्रेस (हेकन) पछि भएको हो। पूर्वअध्यक्ष प्रा. डा. बसन्त पन्तको अध्यक्षतामा हेकन अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना भएको थियो। नयाँ कार्यसमितिले छारे रोग भएका व्यक्तिको आवश्यकता र जीवनस्तरलाई केन्द्रमा राख्दै सोसाइटीलाई थप सशक्त, समावेशी र सहकार्यमा आधारित संस्था बनाउने प्रतिबद्धता जनाएको छ।




