काठमाडौं । विश्व अन्तरआध्यात्मिक सद्भाव सप्ताह (World Interfaith Harmony Week) को अवसरमा Gita4Life Campaign द्वारा विशेष वेबिनार आयोजना गरिने भएको छ।
“The Teachings of the Gita: Guidelines for Interfaith Beliefs and Practices” विषयक उक्त वेबिनार फेब्रुअरी ७, २०२६ मा अनलाइन माध्यम (Zoom) मार्फत सञ्चालन हुनेछ। कार्यक्रम नेपाली समय अनुसार राति ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने जीवनका लागि गीता ज्ञान अभियान ( Gita4Life) नेपालका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीले बताउनुभयो ।

शान्ति र अहिंसाको संस्कृतिलाई प्रवर्द्धन गर्न विश्व अन्तरआध्यात्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइन्छ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरआध्यात्मिक सद्भाव सप्ताहका रुपमा मनाउन सुरु गरिएको हो ।
कार्यक्रमका अध्यक्ष श्री केदार बस्नेत, वेबिनारका मोडरेटर डा. हरि चन्द्र कमली रहनेछन् भने कार्यक्रममा स्वागत मन्तव्य आचार्य सुरेन्द्र ओझा र धन्यवाद मन्तव्य श्री सुदीप पौडेलले व्यक्त गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा नेपाल, नर्वे, अमेरिका, बंगलादेश, इन्डोनेसिया तथा क्यानडाका विभिन्न विज्ञ तथा शिक्षाविद्हरूको सहभागिता रहनेछ। प्रमुख वक्ताहरूमा नेपालका शैक्षिक दार्शनिक प्राडा. विद्यानाथ कोइराला, नर्वेबाट प्राडा. बिशाल सिटौला, बंगलादेशबाट श्री प्रशान्त कुमार शिल, अमेरिकाबाट डा. बिष्णु जोशी, नेपालका सांस्कृतिक विज्ञ प्राडा. मोहनराज गौली, इन्डोनेसियाबाट डा. इ मेद सुपर्ता लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
डा. कमलीका अनुसार उक्त वेबिनारले धार्मिक सहिष्णुता, आपसी सद्भाव, शान्ति र मानव मूल्य प्रवर्द्धनमा गीता ज्ञानको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने उद्देश्य राखेको छ।



