काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तयार गरिएको लोगो सार्वजनिक गरिएको छ। लोगोमा नेपाली कांग्रेसको ऐतिहासिक पहिचान, राष्ट्रियता, परिवर्तन र समुन्नत नेपालको अवधारणालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।
लोगोमा कांग्रेसको चारतारे झण्डासँगै पार्टीको राजनीतिक इतिहास र नेतृत्वको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वका आकृति समेटिएका छन्। साथै नेपालको राष्ट्रिय पहिचान झल्काउने तत्वहरू तथा हरियाली र समृद्धिको प्रतीकका रूपमा रूखको आकृति पनि राखिएको छ।

महाधिवेशनको मुख्य नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ रहेको छ। त्यस्तै लोगोको तल्लो भागमा ‘गौरव, गति, गन्तव्य’ भन्ने संक्षिप्त नारालाई समेटिएको छ।
लोगो र नारामार्फत नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई सम्मान गर्दै परिवर्तन र समुन्नत नेपालको लक्ष्यतर्फ अघि बढ्ने सन्देश दिन खोजेको देखिन्छ।



