न्युयोर्क: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकट र भोटेकोशी–त्रिशूली विपद्को विषयलाई विश्वसामु जोडदार रूपमा उठाएका छन्। उनले नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले जलवायु परिवर्तनको असमान भार खेपिरहेको भन्दै विश्व समुदायसँग जलवायु न्यायको माग गरेका छन्।
शाहले ‘भोटेकोशी–त्रिशूलीको विपद् केवल नेपालको स्थानीय त्रासदी होइन, यो विश्वका लागि चेतावनी हो’ भन्दै जलवायु परिवर्तनले कुनै सीमा नमान्ने बताए।

उनले भनेका छन्, ‘हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।’
नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्दै शाहले भने, ‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको ठूलो मूल्य हामीले तिरिरहेका छौँ।’
शाहले जलवायु न्यायलाई संयुक्त राष्ट्रसंघका दस्तावेजमा मात्र सीमित नराख्न आग्रह गर्दै नेपाली जनतालाई पटक–पटक विगत पुनर्निर्माण गर्नुपर्ने अवस्थाबाट मुक्त गराएर भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने बताए।
उनले हिमालयलाई विश्वको ‘जीवन प्रणाली’को महत्वपूर्ण हिस्सा भन्दै अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
‘घरमा आगो लागेको बेला परिवारलाई ५० वटा फाराम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ,’ शाहले भने।
विश्वले युद्धका लागि तीव्र र प्रभावकारी आपूर्ति प्रणाली बनाउन सके पनि विपद्मा परेका किसान र नागरिकसम्म आवश्यक सहयोग पुर्याउन नसकेको भन्दै उनले विश्व व्यवस्थामाथि प्रश्नसमेत उठाए।
शाहले नेपालका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता आवश्यक रहेको बताए।
उनले हिमालयलाई विभाजित सूचनाको सीमाना नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने धारणा राखे।
युद्धको प्रसंग जोड्दै शाहले नेपालले न सुरु गरेको युद्धको असर पनि नेपाली जनताले भोगिरहेको बताए। ‘हामीले न तताएको जलवायुको मारमा छौँ, न सुरु गरेको युद्धको मारमा पनि छौँ,’ उनको भनाइ थियो।
अन्त्यमा शाहले विश्व शान्ति र मानव कल्याणको सन्देश दिँदै भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। नमस्ते।’



