श्रीमद् भगवद्  गीता महाभारतको युद्धभूमिमा भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्य उपदेश हो । यो मार्गदर्शन हो । यसले मानिसलाई धर्म, कर्मयोग, ज्ञानयोग, भक्ति, दर्शन, जीवन जगत, स्थिरप्रज्ञ, शरीर र आत्मा र चेतनाबारे गहिरो र विस्तृत रूपमा शिक्षा दिन्छ। यो मानव इतिहासको दिव्य र पवित्र ग्रन्थ हो र केवल एक धार्मिक ग्रन्थ मात्र होइन, यो एक दर्शन हो जसले सबैलाई समभावका साथ जीवन जिउन प्रेरित गर्दछ ।

श्रीमद् भगवद्  गीतामा १८ अध्याय र ७०० श्लोकहरू रहेका छन जुन सबै आफैमा धेरै महत्वपूर्ण श्लोकहरू छन् । गीताका अठार वटा अध्यायमध्येकाे दोस्रो अध्यायलाई सांख्य योग भनिन्छ र यसलाई ज्ञान योग पनि भनिन्छ । कुल ७२ वटा श्लोक रहेको यस अध्यायमा कर्मको शक्ति, इन्द्रियको शान्ति र त्यसको नियन्त्रणको महत्व, आत्मा र शरीरबीचको सम्बन्ध, स्थिरप्रज्ञ र आत्मज्ञानको विषयमा गहिरो ज्ञान रहेको छ ।

सांख्य योगको सुरुवातमा जब युद्धबाट भयभित भएका अर्जुन युद्ध नगर्ने र युद्धबाट पन्छिने कुरा गर्छन् तब भगवान श्रीकृष्णले अर्जुनलाई अज्ञानमा डुबेको व्यक्ति भन्दै, असत्य, मोह र कायरताको त्याग गरी युद्ध गर्न प्रेरित गर्नुभएको थियो । यसबाट हामीलाई जीवनमा आउने कठिन परिस्थितिबाट भाग्न नहुने शिक्षा मिल्छ । युद्धमा आउने बाधाहरू, आफन्त, गुरुसँग कसरी युद्ध लड्ने भनेर मानसिक द्वन्द्वमा परेका अर्जुनलाई श्रीकृष्णले शरीर नाशवान रहेको तर आत्मा अविनाशी रहेको, पुराना वस्त्र त्यागेर हामीले नयाँ वस्त्र धारण गरेझैं एक शरीर काम नलाग्ने भएपछि त्यो शरीरमा हुँदा रहेको कर्मको फल अनुसार नयाँ शरीर प्राप्त गर्ने बताउनुभएको थियो , कुनै शस्त्रले आत्माको विनाश गर्न सक्दैन, आगोले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन, हावाले सुकाउन सक्दैन भन्ने बताउनुभएको थियो । साथै जीवनमा सुख, दुःख, जाडो गर्मी ,चिसो ,तातो जस्ता आउने अनि जाने ,सधैं नरहने भएकाले सबै कुरा समान ग्रहण गर्नुपर्ने भनेर शिक्षा पनि दिनुभएको थियो । व्यक्तिले आफ्नो कर्तव्य नभुलेर कर्म गर्नुपर्ने , कर्मको फल प्रति धेरै मोह नराख्नु पर्ने किनकि कर्म गरेपछि फल अवस्य पाइने पनि यस सांख्य योगमा भगवान कृष्णले अर्जुनलाई बताउनु भएको थियो। यसबाट हामीले जीवन मा आफूले नियन्त्रण गर्न नसकिने कुराकाे धेरै चिन्ता गर्न नहुने , निरन्तर कर्म गर्नु पर्ने र जीवनमा चिन्ता ,तनाव , भय लगायत का सम्पूर्ण भावना त्यागेर आनन्दमय जीवन बिताउनुपर्ने , जिवनजगतको कल्याणमा समर्पित रहनु पर्ने शिक्षा पाउन सक्छौं।

भगवान श्रीकृष्णले हामीले जीवनमा आफूले निष्काम कर्म गर्नुपर्ने, कुनै कुराको इच्छा, मोह लाभ, घृणा, सुरक्षा आदिमा आसक्त हुन नहुने र फलको प्रति आसक्तिको भाव त्याग्नुपर्ने शिक्षा दिनुभएको छ । निरन्तर रूपमा गरिएको कर्मबाटै सफलता प्राप्त हुने भन्दै, यस श्लोक योगमा भगवान श्रीकृष्णले व्यक्तिलाई लाभ, हानि, जय पराजय जस्ता सम्पूर्ण आशक्ति त्याग्न, आफ्नो बुद्धिलाई एकाग्र अवस्थामा लगाउन, र समभाव राख्न प्रेरणा दिनु भएको छ।
यस सांख्य योगमा इन्द्रियको शक्ति बारे पनि वर्णन गरिएको छ। कुनै पनि विषयको अत्याधिक चिन्तनले मन मा कामना उत्पन्न गराउने , यदि कामना पूरा भयो भने मोह उत्पन गराउने तर पूरा भएन भने क्रोध उत्पन्न हुने बताईएको छ। क्रोध ले मानिसको बुद्धिनास गर्ने र मानिसले के सही हो र के गलत हो भनेर छुट्याउन नसक्ने जसकारण उ पतन हुने समेत बर्णन गरिएको छ। त्यसैले हामीले धेरै ब्यक्ति वा शास्त्रका धेरै कुरा सुनेर र पढेर भ्रमित हुन हुँदैन , भ्रमित भएको हाम्रो मनलाई, हाम्रो बुद्धिलाई एउटा सुन्दर मार्गमा लगाउनु पर्छ तब हाम्रो जीवन सफल हुन्छ भन्ने कुरा सिक्न सक्छौं। जब हृदय प्रसन्न हुन्छ तब सम्पूर्ण कुरा ठीक हुन्छ तर खराब भावना वा विचार हुने मन कहिले सुखी हुँदैन त्यसैले हामीले खराब भावना त्याग्नु पर्छ र प्रसन्न रहनु पर्छ भन्ने शिक्षा पनि यस सांख्य योगबाट पाउन सक्छौं। यसका साथै इन्द्रियले ज्ञानी भन्दा ज्ञानी व्यक्ति जो आफ्नो जीवनको लक्ष्य प्रति समर्पित छ, असल कर्म गर्न चाहन्छ ,उनीहरूलाई समेत खराब मार्गमा लान सक्छ, इन्द्रियको नियन्त्रण मा रहेको ब्यक्ति हावाले चारै तिर लाने नौका जस्तै हुन्छ जुन कुनै नियन्त्रण मा हुँदैन त्यसैले हामीले हाम्रो इन्द्रियलाईनियन्त्रण मा राख्नु पर्छ, इन्द्रियले हामीलाई नियन्त्रित गर्नु हुँदैन। यस सांख्य योगमा श्रीकृष्णले अर्जुनलाई मार्गदर्शन दिँदै जाँदा अर्जुनलाई श्रेष्ठ ब्यक्ति कस्तो हुन्छ,उसको गुण के हो भनी सोध्छन् तब श्री कृष्णले उत्तर दिँदै जो व्यक्तिले आफूलाई पतन तर्फ लाने इन्द्रीयहरू बेलैमा नियन्त्रण गरी स्वयं द्वारा स्वयं नैं सन्तुष्ट हुन्छ ,त्यो नै श्रेष्ठ ब्यक्ति हो ,उत्कृष्ट ब्यक्ति हो भनेर बताउनु हुन्छ।

अतः श्रीमद् भगवद् गीता, द्धितीय अध्याय ,सांख्य योगले व्यक्तिलाई एक सफल व्यक्तित्वको धनी बन्नका लागि जीवन जगत , धर्म,कर्म,न्याय, स्थिथप्रज्ञा , आत्माकाे शक्ति, चेतना, धैर्य ,विरता ,कर्मको शक्ति ,प्रसन्न हृदय र इन्द्रिय , कामना आदि नियन्त्रण बारे गहिरो ज्ञान दिई उत्कृष्टता प्राप्त गर्नका प्रेरणा दिन्छ , श्रेष्ठ ब्यक्ति बन्न सिकाउँछ।

नाम :दिना घिमिरे
उमेर :१६ वर्ष
विद्यालय: तुलसी मेहर मेमोरियल मा. वि
कक्षा:११
 ठेगाना :धनकुटा नगपालिका,धनकुटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय