कविता: इन्दिरा निरौला

यो एकता
देशको दुखाइ सुन्न बनेको होइन,
न पसिनाले भिजेको खेत,
खाली कचौरामा रोइरहेको बच्चा
र च्यातिएको नागरिकको घाउ
छाम्न जन्मिएको हो।
यो एकता
संविधानको आत्मा जोगाउन होइन,
लोकतन्त्रको मेरुदण्ड सीधा पार्न होइन,
न्यायका ढोकामा कुर्दा–कुर्दै
बुढिँदै गएका आँखामा
आशा भर्न आएको पनि होइन।
यो एकता त
कुर्सीको उचाइ नाप्ने स्केल हो,
सत्ताको सिँढी बनाउने चाल हो,
एक–अर्काको काँध टेकेर
सिंहासन चढ्ने
दुई चतुर मनुवाको
हिसाब–किताब हो।
जनताको आक्रोशलाई नारा बनाएर,
आँसुहरूलाई भाषणमा मिसाएर,
क्रान्तिका शब्द बेचेर
सत्ताको बजारमा
आफ्नो भविष्य किन्न खोजिएको हो—यो।
तिमीहरूले भनेका थियौ,
“पुराना दल सकिए।”
तर आज
पुरानै स्वार्थ बोकेर
नयाँ अनुहारले
उही खेल दोहोर्याइरहेका छन्।
तिमीहरूले भनेका थियौ,
“हामी फरक छौं।”
तर सत्ता देख्नेबित्तिकै
फरकपन
कुर्सीमुनि लुकाइयो,
र नागरिक फेरि
उपयोगी सिँढी मात्र बनाइयो।
यो एकतामा
माटोको गन्ध छैन,
श्रमिकको पसिना छैन,
आमाको रुवाइ छैन,
देशको भविष्यप्रति
न भय छ,
न लाज।
यो त
आफ्नै महत्वाकांक्षाको पूजा हो,
सत्ताको सिंहासनमा
आफ्नै नाम कोर्ने हतार हो।
जनता फेरि पनि
नारा बनाइनेछन्,
भीड बनाइनेछन्,
मतपेटिकासम्म पुर्याइनेछन्।
र जितेपछि—
इतिहासको कुनामा
थन्क्याइनेछन्।
देश यसरी बन्दैन,
भविष्य यसरी लेखिँदैन।
याद राख,
सत्ता क्षणिक हुन्छ,
कुर्सी उधारो हुन्छ,
र नागरिकको धैर्य
एक दिन
निर्णयमा बदलिन्छ।
त्यो दिन
यो एकता
देश बचाउने दस्तावेज होइन,
सत्ता चढ्न गरिएको
नाङ्गो सौदा भनेर
इतिहासले लेख्नेछ।




