काठमाडौं: नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश सधैँ नयाँ प्रयोग र विकल्पको खोजीमा अल्झिँदा एउटा ‘प्रयोगशाला’ मात्र बनेको भन्दै राजनीतिक अस्थिरताप्रति कडा टिप्पणी गरेका छन्।
उनले व्यवस्था र पात्रहरू फेरिए पनि आम जनताको जीवनस्तर र राष्ट्रको श्रीवृद्धिमा कुनै ठोस परिवर्तन नभएकोमा चिन्ता व्यक्त गर्दै निषेध र प्रतिशोधको राजनीति त्याग्न आग्रह गरेका हुन्।

यद्यपि, राजनीतिमा आधुनिक ज्ञान र प्रविधिले युक्त युवा पुस्ताको बढ्दो संलग्नतालाई उनले उत्साहजनक र राष्ट्रका लागि फलदायी हुने बताएका छन्।
देश चौतर्फी समस्या र परनिर्भरताको भुमरीमा फसेको उल्लेख गर्दै शाहले अब संवाद, सहमति र सहकार्यमार्फत सबै पक्षलाई समेट्ने गरी संवैधानिक समाधान खोजिनुपर्नेमा जोड दिएका छन्।



