पाँचथर, १२ फागुन । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीद्वारा आयोजित चुनावी सभा उत्साहजनक रूपमा सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्दै कुलमान घिसिङले देशमा दिगो विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सार्नुभयो। ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा हासिल भएको सफलता स्मरण गर्दै उहाँले अब समग्र राष्ट्रलाई उज्यालो भविष्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अहिलेको जेनेरेसन–जेड (Gen Z) पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने समय आएको उल्लेख गर्दै आफू युवापुस्ताको भावना, सोच र ऊर्जालाई प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा अघि बढिरहेको बताउनुभयो।
“हामीले काम गरेर देखाएका छौं, अब देश बदल्ने जिम्मा जनताले दिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले युवाशक्ति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको दृढ अडान नै आफ्नो पार्टीको मुख्य आधार भएको उल्लेख गर्दै परिवर्तन चाहने सबैलाई एकजुट हुन आह्वान गर्नुभयो। साथै पाँचथर लगायत कोशी प्रदेशका आफ्ना पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो।






