काठमाडौँ–२ बाट राप्रपाकी कुन्ति पोखरेलको पुनः उम्मेदवारी
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ति पोखरेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।

यसअघि २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिस्पर्धा गरेकी पोखरेल तत्कालीन निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी थिइन्। यसपटक भने गौतम चितवन–२ बाट उम्मेद्वार बनेपछि पोखरेल पुनः काठमाडौँ–२ मा चुनावी मैदानमा उत्रिएकी छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ।



