काठमाडौं: काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ।
शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल तय भएको छ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार दिउँसो १ देखि २ बजेसम्म काठमाडौंसहित धेरै स्थानमा वर्षा हुने र त्यसपछि क्रमशः कम हुँदै जाने सम्भावना छ।
वर्षा रोकिए पनि मैदानलाई खेल्नयोग्य बनाउन दुईदेखि तीन घण्टासम्म लाग्न सक्ने देखिन्छ। मैदानमा पानी जमेको र आउटफिल्ड हिलाम्मे भएको अवस्थामा खेलाडीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने हुन्छ।
दोस्रो खेल साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ। पहिलो खेलको अवस्था, वर्षा रोकिने समय र मैदानको अवस्थाले दोस्रो खेल हुने वा नहुने निर्धारण गर्नेछ।
एनपीएलमा रिजर्भ डे नराखिएकाले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नुपर्नेछ।



