काठमाडौं: संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी थालेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय साझा धारणा निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित छलफलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थिति थियो।
बैठकमा आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म टर्किएमा आयोजना हुने कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय तथा राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको छ।
जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, स्वच्छ ऊर्जा तथा जलवायु वित्तका विषयलाई सशक्त रूपमा उठाउनुपर्ने सरकारको जोड छ।
जलवायु परिवर्तनजस्तो साझा राष्ट्रिय सरोकारको विषयमा राजनीतिक दलहरूबीच एकीकृत धारणा बनाएर नेपालको हित र प्राथमिकतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ।



