गोरखा: सडक र पुलको अभावमा वर्षौंदेखि कृषि उत्पादन बजारसम्म पुर्‍याउन नसकेर सास्ती खेप्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन्।

मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा आफूहरूले उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भइरहेको गुनासो गरेका थिए।

स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा खेतबारीमा उत्पादन भएको तरकारी समयमै बजार पुर्‍याउन सकिएको छैन। जसका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन् भने कतिपय अवस्थामा बिक्री हुन नसकेर उत्पादन बारीमै कुहिने गरेको छ।

किसानको मेहनत र लगानी खेर गइरहेको भन्दै स्थानीयले पुल निर्माणलाई प्राथमिकतामा राखेर समस्या समाधान गरिदिन गृहमन्त्री गुरुङसँग आग्रह गरेका थिए।

स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै अबको केही समयमै समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। यसले कृषि उत्पादनको बजारीकरण, उचित मूल्य प्राप्ति र स्थानीयको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

वर्षौंदेखि पुलको अभावमा समस्या भोग्दै आएका स्थानीय अब भने ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने र आफ्नो कृषि उत्पादनले सहजै बजार पाउने आशामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय