काठमाडौं:  प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री शाह १९ः०० बजे कतारको दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीहरूले उहाँलाई स्वागत गर्नेछन्।

न्यूयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा उहाँलाई क्रमशः ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुनेछ।

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्यूयोर्कबाट दोहातर्फ प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्नेछन्।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय