धनकुटा: नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले आफ्ना हजुरबुबा गुनलाल र जिजुबुबा गणपति न्यौपानेको स्मृतिमा धनकुटाको पाख्रीबास नगरपालिका–१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको नाम परिवर्तन गराएका छन्।
विद्यालयको नयाँ नाम ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिएको छ। विद्यालयको नाम परिवर्तनसँगै डा. शर्माले विद्यालयको विकास र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि कुल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।


नाम परिवर्तनका लागि आवश्यक प्रक्रिया पूरा भएपछि २०८३ असोज ५ गते विद्यालय, पाख्रीबास नगरपालिका र डा. शर्माबीच सम्झौता भएको हो। सम्झौताअनुसार नाम परिवर्तनका लागि आवश्यक ३ करोड रुपैयाँ उनले आज एकाउन्ट पेयी चेकमार्फत विद्यालयलाई उपलब्ध गराएका छन्।
त्यसैगरी, काठमाडौं मेडिकल कलेज (केएमसी) मार्फत आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीका लागि २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता गरिएको छ। कक्षा ६ देखि कम्तीमा पाँच वर्ष सोही विद्यालयमा अध्ययन गरेका, एसईई उत्तीर्ण, आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी मेरिटका आधारमा केएमसीमा छनोट भए विद्यालयको सिफारिसमा छात्रवृत्ति पाउनेछन्।
छात्रवृत्तिअन्तर्गत केएमसीमा अध्यापन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क निःशुल्क हुनेछ।

डा. शर्माले पुर्खाको नाम विद्यालयसँग जोड्ने कामलाई शिक्षामा लगानी र सामाजिक उत्तरदायित्वसँग जोडिएको पहलका रूपमा लिएको बताएका छन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
सम्झौतामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
डा. शर्माले यसअघि पनि मोरङको रतुवामाई–९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न २ करोड रुपैयाँ सहयोग गरेका थिए। उक्त सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो।



