काठमाडौं: राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ। विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ। विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो। यसअघि विभागको उत्पादन क्षमता दैनिक करिब १ हजार ५०० राहदानी रहेको थियो ।

विभागले नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको छ। विभागका अनुसार बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउन क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको छ।

विद्युतीय राहदानी सेवा काठमाडौंमा मात्र सीमित नरहेको तथा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ। विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि विद्युतीय राहदानी सेवा लिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ।

बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले राहदानी उत्पादन तथा सेवा प्रवाहको क्षमता विस्तार गर्नुका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको जनाएको छ। पछिल्लो समय भने विभागले उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि गर्दै एकै दिन ५ हजार ८७८ वटासम्म विद्युतीय राहदानी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको जनाएको छ। विभागले यसलाई विद्युतीय राहदानी सेवाको क्षेत्रमा उल्लेखनीय प्रगतिको रूपमा लिएको छ।

विभागले विद्युतीय राहदानी प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै आएको जनाएको छ। सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या तीन महिनाभित्र प्रणालीलाई स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्य अघि बढाइएको विभागको भनाइ छ। सेवाग्राहीले राहदानी प्राप्त गर्न अनावश्यक कठिनाइ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ।
प्राविधिक समस्या समाधान गर्दै विद्युतीय राहदानी सेवा थप सहज, भरपर्दो, सुरक्षित तथा प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय