२६ साउन, काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजा बरामद गर्दै भारतका ५० वर्षीय सउरु चौधरीलाई नियन्त्रणमा लिएको हो।
लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार राति परिचालित प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। भारतको बेतीया, उजहरु परजिलवा भांगाह निवासी चौधरीलाई पर्साको पटेर्वासुगौली गाउँपालिका–३, सोनवर्षाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बोरा बोकेर शंकास्पद रूपमा हिँडिरहेका चौधरीलाई प्रहरीले रोकेर जाँच गर्दा उनले बोकेको बोराभित्र गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको तौल प्लास्टिकको बोरा बाहेक १०५ किलो रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि सोमबार साँझ पनि पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिकलाई पक्राउ गरेको थियो।



