काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीको निरन्तर पहलपछि सरकारले नेपाल प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयसँगै नेपाल प्रहरीले फागुन १ गतेदेखि अन्य सुरक्षा निकायले पाउँदै आएको स्केल बराबरको राशन सुविधा प्राप्त गर्ने भएको हो ।
आईजिपी कार्कीले गत भदौ २७ गते दर्ज्यानी चिन्ह समारोहमा व्यक्त गरेको प्रतिबद्धता यस निर्णयमार्फत व्यवहारमा परिणत भएको छ । लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा देखिँदै आएको असमानता हटाउन उनी आईजिपीमा नियुक्ति भएदेखि नै सक्रिय रहँदै आएका थिए ।

सरकारको पछिल्लो निर्णयलाई प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्ने, संगठनको पेशागत विकासलाई सुदृढ बनाउने तथा सुरक्षा निकायबीच समानता कायम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
आईजिपी कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएयता नेपाल प्रहरीभित्र विभिन्न सुधारका कार्यक्रमहरू अघि बढाइरहेका छन् । सेवा प्रवाहको स्तर उकास्ने र प्रहरी कर्मचारीहरूको मनोबल मजबुत बनाउने दिशामा उनको सक्रियता निरन्तर देखिँदै आएको छ ।



