सोलुखुम्बु जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारको रूपमा पेम्बा छिरी शेर्पा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा होमिन लागेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले उनलाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको हो।

पेम्बा छिरी शेर्पा २०८० सालदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भई सोलुखुम्बु जिल्लाको संस्थापक नेतृत्वकर्ताका रूपमा सक्रिय थिए। जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले पार्टी संगठन विस्तारमा उल्लेखनीय भूमिका खेलेका थिए।

उनको सक्रियता र योगदानको उच्च मूल्यांकन गर्दै रास्वपाको कोशी प्रदेश कमिटीले जिल्ला कमिटी पूर्णता पाएपछि उनलाई कोशी प्रदेश पर्यटन विभाग सचिवको जिम्मेवारी दिएको थियो। उक्त पदमा रहँदा शेर्पाले करिब एक वर्षसम्म काम गर्दै कोशी प्रदेशका १४ वटै जिल्लामा पर्यटन विभाग गठन गर्न महत्वपूर्ण पहल गरेका थिए।

तर पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक उथलपुथल, केही व्यक्तिहरूको अहम र असन्तुलित गतिविधिका कारण उनले प्रदेश पर्यटन विभाग सचिव पदबाट राजीनामा दिँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको स्पष्ट पारेका छन्।

शेर्पा विगत एक दशकदेखि सोलुखुम्बु जिल्लाका राजनीतिक, सामाजिक र स्थानीय समस्यालाई लिएर सडकदेखि केन्द्रीय मन्त्रालयसम्म निरन्तर आवाज उठाउँदै आएका सचेत स्थानीय अभियन्ता हुन्।

रास्वपाबाट अलग भई बसेकै क्रममा उज्यालो नेपाल पार्टीका नायक कुलमान घिसिङबाट जिल्लाको दीर्घकालीन विकास र जनताको पक्षमा उम्मेदवारी दिन प्रस्ताव आएपछि उनले यो निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेका हुन्।

आफ्नो उम्मेदवारीबारे प्रतिक्रिया दिँदै शेर्पाले भने,
“यो टिकट मलाई होइन, सोलुखुम्बु जिल्लाबासीहरूको हितमा काम गर्नका लागि दिइएको हो। यो उम्मेदवारी मेरो व्यक्तिगत होइन, हामी सबै सोलुखुम्बुका जनताको पक्षबाटको हो। म निर्वाचित हुनु मेरो जित होइन, यो सिंगो जिल्लाबासीको जित हुनेछ।”

अन्त्यमा उनले सोलुखुम्बु जिल्लाबासीलाई इतिहास रच्न आह्वान गर्दै मतदानका दिन ‘बत्तीको चिम’ चिन्हमा छाप लगाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय