काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ।

समारोहमा अर्थमन्त्री खनालले ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने, ऋणीहरूको प्रोफाइलिङ गर्नुपर्ने तथा नगद कारोबार भन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले धितोमा आधारित कर्जा प्रवाहको सट्टा क्रेडिट स्कोरका आधारमा लगानी गर्न सकिने हो भने उद्यमशीलता, आयआर्जन र भुक्तानी क्षमतामा आधारित बैंकिङ प्रणाली विकास गर्न सकिने बताए।

वार्षिकोत्सवकै अवसरमा अर्थमन्त्री खनालले बैंकद्वारा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका ‘उपहार २०८२’ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा नयाँ शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गरे। साथै उनले बैंकको नयाँ प्रडक्ट ‘आरबीबी फोन लोन’ को शुभारम्भ समेत गरे।

कार्यक्रममा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो।

सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउँदै युवा पुस्ताको चाहनालाई आत्मसात् गर्दै मुलुक र जनताको हितमा काम गर्नु बैंकको प्रमुख दायित्व रहेको बताए। उनले उत्पादन, रोजगारी र आय वृद्धि मार्फत आर्थिक रूपमा सबल अर्थतन्त्र निर्माण गर्न बैंक प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिइरहेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा २०८०।०८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक पुरस्कृत भएको छ।

मूल समारोहमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्रप्रसाद चौलागाईं, नेपाल वित्तीय संस्था कर्मचारी संघ (रावाबैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले कर्मचारी हकहित र बैंकको समग्र विकासबारे धारणा राख्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्यहरू, स्वतन्त्र सञ्चालक, नायब प्रमुख कार्यकारी अधिकृतद्वय, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुख, शाखा प्रबन्धक, कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

यसअघि वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत रक्तदान, स्वास्थ्य शिविर, खेलकुद कार्यक्रम तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।

वि।सं। २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक ६० वर्ष पूरा गरी ६१औँ वर्षमा प्रवेश गरेको हो। बैंकले हाल देशभर ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले करिब १९ लाख ७० हजार ग्राहकलाई मोबाइल बैंकिङ सेवा तथा करिब १ लाख ४७ हजार क्यूआर मर्चेन्ट सेवा प्रदान गरिरहेको उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय