काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि कबिर शर्मालाई उम्मेदवार बनाएसँगै उक्त क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। लामो समयदेखि विकास र प्राथमिकताबाट पछि परेको काठमाडौँ–२ मा कांग्रेसले नयाँ अनुहार अघि सारेपछि मतदाताबीच उत्साह देखिएको छ।
उम्मेदवार चयनपछि शर्माले स्थानीय जनताको आशा र परिवर्तनको चाहनालाई संसद्सम्म पुर्याउने जिम्मेवारी आफूले गम्भीर रूपमा लिएको बताएका छन्। पूर्वाधार, शहरी व्यवस्थापन र सेवा–सुविधामा देखिएका समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाउने उनको प्रतिबद्धता छ।

शहरी क्षेत्र भए पनि काठमाडौँ–२ मा असमान विकास, व्यवस्थापनको अभाव र आधारभूत सेवामा पहुँचको समस्या कायमै छ। यी विषयलाई केन्द्रमा राखेर चुनावी बहस अघि बढाउने रणनीतिका रूपमा कांग्रेसको उम्मेदवारीलाई हेरिएको छ।
लोकतान्त्रिक आन्दोलनमा युवाको भूमिका निर्णायक भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर रहँदै आएको सन्दर्भमा शर्मा आशालाग्दो युवा नेतृत्वका रूपमा देखिएका छन्। भूगर्भविद् शैक्षिक पृष्ठभूमि भएका शर्मासँग भूगोल, वातावरण र पूर्वाधार विकाससम्बन्धी प्राविधिक ज्ञान रहेको बताइन्छ, जसले शहरी समस्यामा वैज्ञानिक दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ।
टकराव र निषेधको राजनीतिभन्दा संवाद, सहकार्य र समावेशी सोचमा विश्वास गर्ने शर्माको राजनीतिक शैलीलाई परम्परागत अभ्यासभन्दा फरक मानिएको छ। ग्रासरुट तहमा सक्रिय रहँदै आएका उनी कांग्रेसको क्षेत्रीय सभापतिका रूपमा संगठन विस्तार र जनसम्पर्कमा निरन्तर सक्रिय छन्।
शिक्षित पृष्ठभूमि, युवामैत्री सोच र सहकार्यमा आधारित राजनीतिक दृष्टिकोणका कारण काठमाडौँ–२ मा कबिर शर्माको उम्मेदवारीलाई समयसापेक्ष र सम्भावनायुक्त नेतृत्वको संकेतका रूपमा हेरिएको छ।



