काठमाडौं: निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पक्षलाई दिने निर्णय गरेसँगै आयोग परिसरमा तनावको अवस्था देखिएको छ।
निर्णयको जानकारी पाउन बिहानैदेखि आयोग परिसरमा सञ्चारकर्मीहरू खटिएका थिए भने शेरबहादुर देउवा र गगन थापा दुवै पक्षका नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। साँझ आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिक घोषणा गरेपछि वातावरण थप उत्तेजित बनेको थियो।

यही क्रममा आयोगको निर्णयबारे प्रत्यक्ष रिपोर्टिङ गरिरहेका पत्रकार केशवराज जोशीमाथि हातपात भएको छ। आयोग परिसरमै पीटीसी दिँदै गर्दा देउवा पक्षका कार्यकर्ताहरूले उनलाई ठेल्दै दुर्व्यवहार गरेको बताइएको छ।
“गगन थापा पक्षमा फैसला भयो भनेर पीटीसी सुरु गरेकै बेला ममाथि हातपात भयो,” जोशीले प्रतिक्रिया दिएका छन्। घटनापछि केही समय आयोग परिसरमा हल्लाखल्ला मच्चिएको थियो।
पत्रकारमाथि भएको यस घटनाको सञ्चारकर्मी वृत्तले कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।



