काठमाडौं, २१ चैत , वनमन्त्री ऐनबहादुर शाही ठकुरी र काठमाडौं २ कि प्रतिनिधिसभा सदस्य साेबिता गौतमले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडिबुटी उत्पादन तथा प्रशाेधन केन्द्रकाे निरीक्षण गरेका छन् ।
विहीबार विहान मन्त्री ठकुरी र रास्वपा सांसद गौतमले जडिबुटीस्थित प्रशाेधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाकाे अवलाेकन गरेका हुन् । चैत १५ काे राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगाे लगाउँदा प्रशाेधन केन्द्र भग्नावशेष बनेकाे छ । गाडीहरू जलेका छन् । कराेडौंकाे क्षति भएकाे छ । प्रशाेधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएकाे भग्नावशेषकाे अवलाेकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए ।

निरीक्षणपछि वनमन्त्री ठकुरीले छिटोभन्दा छिटाे सञ्चालनमा लागि गृहकार्य भइरहेकाे बताए । `प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौं । १० कराेड भयाे भने अस्थायी सञ्चालन हुन्छ भन्ने छ । क्याविनेटमा छलफल भइसकेकाे छ । चाँडै रकम उपलब्ध हुन्छ,´ उनले भने । क्षतिकाे सहरी विभागले मूल्यांकन गरिरहेकाे र पुननिर्माण प्रक्रिया अगाडि बढ्ने उनकाे भनाइ थियाे । `उत्पादन बढाउने र राेजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुन सुचारू गर्छौं,´ उनले भने ।
सांसद गौतमले आगलागीबाट २८ कराेडकाे क्षति देखिएकाे भन्दै आगाे लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताइन् । गौतमले प्रशाेधन केन्द्रलाई घना बस्तीबाट सार्नुपर्ने पनि बताइन् । `जतिबेला स्थापना भयाे, खुला ठाउँ थियाे, अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएकाे छ । सरकारले उपयुक्त स्थानमा सार्नकाे लागि याेजना बनाउनुपर्छ,´ उनले भनिन् ।
प्रशाेधन केन्द्रकि महाप्रबन्धक यादवले नयाँ उत्पादनकाे तयारी गरिरहेका बेला आगाे लाग्दा ठूलाे क्षति भएकाे बताइन् । उनकाअनुसार उद्योगकाे दुइटा भवन र १३ वटा गाडी जलेर क्षति भएकाे छ । २८ कराेडकाे क्षति भएकाे छ । यादवले तत्कालका लागि १० कराेड उपलब्ध भए सेवालाई सुचारू गर्न सकिने बताइन् । `सेवा सुचारू गर्ने प्रयत्न भइरहेकाे छ । मन्त्रीज्यूले चाँडै आर्थिक प्याकेज घाेषणा गर्छौं भन्नुभएकाे छ । प्रशाेधन केन्द्रलाई पुरानै अवस्थामा सञ्चालन गर्न प्रयासरत छौं,´ उनले भनिन् ।
प्रशाेधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेराेजगार हुने चिन्ता व्यक्त गर्दै पहल गरिदिन सांसद गौतमलाई अनुराेध गरेका थिए ।




