काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन पार्टी आफैँ जुटेको छ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र मानिसहरूको ठूलो चहलपहलका कारण बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षणको काम कांग्रेसका नेता–कार्यकर्ताले सुरु गरेका हुन्।

आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर क्षतिग्रस्त क्षेत्रमा दुबो रोपेका छन्। चितवनबाट ल्याइएको दुबो रोपेर माटो मिलाउने, सिँचाइ र मलखादको व्यवस्था गर्ने काम भइरहेको छ।
कांग्रेसले महाधिवेशनअघि सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोहीअनुसार क्षतिको जिम्मेवारी लिँदै पुनःस्थापनाको काम अघि बढाइएको पार्टीका नेताहरूले बताएका छन्।
काठमाडौँ महानगरपालिका कांग्रेस सभापति सुसन वैद्यले खुलामञ्च कुनै दलको मात्र नभई सबै नेपालीको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। त्यस्तै सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान र सौन्दर्य जोगाउनु पार्टीको जिम्मेवारी भएको बताइन्।
पुनःरोपणको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार दुबोलाई पूर्ण रूपमा स्थापित गरी पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्ने अनुमान छ। त्यसका लागि नियमित सिँचाइ, मलखाद र आवश्यक मर्मतसम्भार गरिनेछ।
यसैबीच कांग्रेसका नेताहरूले खुलामञ्चलाई सर्वसाधारणका लागि सधैँ खुला राख्नुपर्नेमा पनि जोड दिएका छन्। खुलामञ्चको मूल मर्म नै नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउनु रहेको उनीहरूको भनाइ छ।




