काठमाडौं: राप्रपाका नेता ज्ञानेन्द्र शाहीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै युद्धकालीन घटनाबारे प्रश्न उठाएका छन्।
‘कमरेड प्रचण्डजीलाई मेरो जवाफ’ भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका शाहीले सशस्त्र द्वन्द्वका क्रममा मारिएका बालबालिका, शिक्षक, पुजारी, पत्रकार तथा सुरक्षाकर्मीको विषय उठाएका छन्।

उनले अबोध बालबालिकाको काँधमा हतियार बोकाइएको, मन्दिरका पुजारी, विद्यालयमा पढाइरहेका शिक्षक र सत्यतथ्य लेख्ने पत्रकारसमेत मारिएको उल्लेख गरेका छन्। त्यस्तै, परिवारको जीविकोपार्जनका लागि जागिर खाएका सुरक्षाकर्मीको हत्याबारे पनि उनले प्रश्न गरेका छन्।
शाहीले युद्धका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारको पीडा स्मरण गर्दै उनीहरूका घरमा पुगेर वास्तविक अवस्था बुझ्न प्रचण्डलाई आग्रह गरेका छन्।
राजनीतिको नाममा निर्दोष नागरिकको ज्यान गएको विषय उठाउँदै उनले आफूलाई प्रश्न गर्नेहरूलाई अपराधी भन्ने अभिव्यक्तिमाथि पनि आपत्ति जनाएका छन्। शाहीले युद्धकालीन घटनाका पीडित परिवारको आँसु, पीडा र उनीहरूले भोगेको क्षतिलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।




