काठमाडौं, २६ कात्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
कारागारबाट छुटेसँगै उनी आफ्नो निजी निवास पुगेका छन्, जहाँ परिवारजन तथा शुभेच्छुकहरूले उनलाई फूलमाला र टीका लगाएर भव्य स्वागत गरेका छन्।

ज्येष्ठ नागरिक ऐन तथा कारागार नियमावलीबमोजिम ६५ वर्ष उमेर पूरा भएका कैदीबन्दीले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने कानुनी सुविधाअन्तर्गत उनी थुनामुक्त भएका हुन्। सोही सुविधाअनुसार कैद छुट पाउन रायमाझीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले संशोधित कैदीपुर्जी पठाएपछि डिल्लीबजार कारागार प्रशासनले उनलाई बिहीबार बिहान रिहा गरेको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै रायमाझीलाई एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो।
२०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी कारागारमा करिब साढे तीन वर्ष (४२ महिना) कैद भुक्तान गरेपछि रिहा भएका हुन्। कारागार प्रशासनका अनुसार ज्येष्ठ नागरिकको सुविधाअन्तर्गत बाँकी कैद सजायमा २५ प्रतिशत छुट पाए पनि अदालतले तोकेको ४० हजार रुपैयाँ जरिबाना भने उनले भुक्तानी गर्नुपर्नेछ।




