काठमाडौं: प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आसन्न चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रहरी अधिकारीहरूलाई कडा निर्देशन दिएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उनले सम्भावित सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाउन र त्यसको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आईजीपी केसीले उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ परिणाममुखी काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुख, अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखलगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो।




