काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल मात्रै हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।
चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। तीन खेल खेलेको काठमान्डु ४ अंकसहित चौथो स्थानमा रहेको छ। लुम्बिनीले खेलेका चारमध्ये तीन खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ। टोली अहिलेसम्म अपराजित छ।

यता काठमान्डुले तीनमध्ये दुई खेल जित्दा एक खेलमा हार बेहोरेको छ। आजको खेल जित्दै काठमान्डु अंकतालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ भने लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थान थप मजबुत बनाउन चाहन्छ।




