काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उद्धार टोली खटाउनुका साथै राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति पनि उनले धन्यवाद दिएका छन्।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत चासो राखेका थिए।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराउँदै भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताएका छन्।

त्यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठक सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिएका छन्।

मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र बिहीबार उक्त मार्गमा रेल परीक्षणसमेत गरिएको जानकारी प्रधानमन्त्री शाहलाई गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय