काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने घटनाप्रति गम्भीर आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।

उनले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गरेका छन्। विगतमा पनि शासकहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेका घटना स्मरण गराउँदै उनले अहिले त्यस्तै प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन्।
सभापति थापाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायतका कानुनी तथा संस्थागत प्रक्रिया रहेको बताएका छन्।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत भएको उनको भनाइ छ। उनले यस्तो कदमलाई दमनकारी र निन्दनीय भन्दै नेपाली कांग्रेसले घटनाको घोर भर्त्सना गर्ने बताएका छन्।
थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर चालिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेका छन्।



