काठमाडौं: गृहमन्त्री सुधन गुरुङ ले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी अघि बढाएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका विपद्का अनुभवका आधारमा यसपटक अझ सक्रिय रूपमा प्रतिक्रिया दिने योजना रहेको बताए।

उनले विपद् व्यवस्थापनबारे टिप्पणी गर्दै “डिजास्टरका लागि म प्रतिशोध साँधेर आएको छु” भन्ने अभिव्यक्ति दिएका छन्।

विगतमा विपद्ले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै यसपटक त्यसैअनुसार प्रभावकारी रूपमा सामना गर्ने उनको भनाइ थियो।

गुरुङका अनुसार बाढी–पहिरो तथा अन्य प्राकृतिक विपद्को अवस्थामा हेलिकप्टरसहित सबै सुरक्षा निकायका स्रोतसाधन परिचालन गरी तत्काल उद्धार र राहतमा केन्द्रित हुने तयारी गरिएको छ।

मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग र निर्माणाधीन सडक खण्डमा अवरोध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार सडक अवरुद्ध भएमा नजिकै उपलब्ध डोजर तथा उपकरण तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाउन डिजिटल प्रणाली (एप) विकास गरिएको छ, जसले उपकरणको स्थान पहिचान गरेर छिटो प्रतिक्रिया दिन सहयोग गर्नेछ।

गुरुङले सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिइएको र विपद् व्यवस्थापनमा औपचारिक निरीक्षणभन्दा पनि प्रत्यक्ष उद्धार कार्यलाई प्राथमिकता दिइने बताए।

सरकारले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय