काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कोट अर्बम सँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

बिहीबार मन्त्रालयमा भएको भेटमा दुई पक्षबीच पारस्परिक कानुनी सहायता, लगानी प्रवर्द्धन तथा शासकीय सुधारका विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्ययोजनाले भ्रष्टाचार न्यूनीकरण र प्रशासनिक सुधारमा सकारात्मक प्रभाव पार्ने भन्दै यसले विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए।

मन्त्री गौतमले पारस्परिक कानुनी सहायतासम्बन्धी विषयमा मन्त्रालयमा आवश्यक गृहकार्य भइसकेको जानकारी दिँदै यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने गरी अघि बढ्नुपर्ने बताइन्।

छलफलका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकाससँग सम्बन्धित कानुन सुधारबारे पनि विचार आदान–प्रदान भएको थियो।

मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न तीनै तहका कानुनलाई एकीकृत रूपमा डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने काम भइरहेको जानकारी दिइन्।

त्यस्तै, उनले एकीकृत कानुनी सहायता प्रणाली र संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश पनि दिएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय