काठमाडौं: सपना प्रधान मल्ल सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा उपस्थित नभएको पाइएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा ले बुधबार दिउँसो बोलाएको फुलकोर्ट बैठकमा उनी सहभागी नभएकी हुन्।

सर्वोच्च अदालतका नीतिगत तथा दीर्घकालीन विषयमा छलफल गर्न सबै न्यायाधीशहरू सहभागी हुने फुलकोर्ट बैठकमा यसपटक सूचना प्रविधि नीति (आईटी पोलिसी) सम्बन्धी छलफल भएको थियो।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला का अनुसार आईटी पोलिसीबारे छलफल भए पनि विषय अझै टुंगिएको छैन र अर्को बैठकमा छलफल जारी रहनेछ।
स्रोतका अनुसार न्यायाधीश मल्ललाई बैठकमा सहभागी हुन जानकारी दिइए पनि उनी इजलासको कामका कारण उपस्थित नभएकी हुन्।
सो दिन उनी एकल तथा संयुक्त इजलासमा मुद्दा सुनुवाइमा व्यस्त रहेको र बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको फैसला लेखनमा समेत संलग्न रहेको बताइएको छ।
यसअघि पनि प्रधानन्यायाधीश शर्माको कार्यकाल सुरु भएपछि बसेको पहिलो फुलकोर्ट बैठकमा मल्ल बिदामा रहेकी थिइन्।
पछिल्लो समय उनी केही समय बिदामा बसेर जेठ ६ गतेदेखि नियमित काममा फर्किएकी हुन्।
सर्वोच्च अदालतमा फुलकोर्ट बैठकलाई नीति तथा प्रशासनिक निर्णयका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ।




