काठमाडौं: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले ‘खुट्टा भाँचिदिनू’ भन्ने विवादित अभिव्यक्तिबारे संसद्मै स्पष्टीकरण दिएका छन्।
विनियोजन विधेयकअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त भनाइलाई लिएर आएको विवादप्रति प्रतिक्रिया दिएका हुन्।

उनले आफूहरूको उद्देश्य कुनै पनि व्यवसायीलाई कारबाही गर्ने वा ठेक्का रद्द गर्ने नभएको स्पष्ट पार्दै निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
“सम्भावना एक प्रतिशत मात्रै भए पनि हामीले काम अघि बढाउनुपर्छ,” उनले भने।
मन्त्री लम्सालले पूर्वाधार निर्माणमा मुख्य रूपमा केही संरचनागत समस्या रहेको बताए।
उनका अनुसार निर्माण सामग्रीको व्यवस्थापन, वन क्षेत्रबाट स्वीकृति प्राप्तिमा हुने ढिलाइ, बीमा प्रक्रिया तथा पोल सार्ने जस्ता कारणले परियोजना ढिला हुने गरेका छन्।
उनले यस्ता अवरोधहरू समाधान नगरी विकास परियोजनाहरू समयमै सम्पन्न गर्न कठिन हुने भन्दै सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।




