काठमाडौं: काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण र हेरचाहका लागि विभिन्न पशु कल्याणसम्बन्धी संस्थाहरू सक्रिय रूपमा जुटेका छन्।

ती संस्थाहरूले जनावरहरूको खानपान, उपचार तथा उद्धारका कार्यलाई निरन्तरता दिँदै आएका छन्।

विशेषगरी स्नेहा केयर, क्याट लगायतका संस्थाहरूले बस्तीमा रहेका कुकुर, बिरालो तथा अन्य घरपालुवा जनावरहरूलाई नियमित रूपमा खाना खुवाउने, सुरक्षित स्थानमा राख्ने र उनीहरूको समग्र स्वास्थ्य अवस्थाको निगरानी गर्ने काम गरिरहेका छन्।

बस्तीमा सीमित स्रोतसाधनका कारण उचित हेरचाह नपाएका जनावरहरूलाई लक्षित गरी उनीहरूको संरक्षणमा विशेष ध्यान दिइएको छ।

त्यस्तै, बिरामी तथा घाइते अवस्थामा भेटिएका जनावरहरूको उपचारका लागि चिकित्सकीय सेवा पनि उपलब्ध गराइएको छ।

आवश्यक परेमा उनीहरूलाई उपचार केन्द्रमा लगेर औषधोपचार गर्ने तथा पुनःस्थापनाको व्यवस्था मिलाइने गरिएको छ।

यससँगै, सडकमा अलपत्र परेका वा बेवारिसे अवस्थामा रहेका जनावरहरूको उद्धार, हेरचाह तथा पुनर्वासका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।

यस्ता जनावरहरूलाई सुरक्षित स्थानमा राखी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दीर्घकालीन संरक्षणका उपायहरू अवलम्बन गरिँदै आएको संस्थाहरूले जनाएका छन्।

संस्थाहरूका अनुसार सुकुम्बासी बस्तीमा मानवसँगै जनावरहरूको अवस्था पनि चुनौतीपूर्ण हुने भएकाले उनीहरूको संरक्षणमा विशेष पहल आवश्यक छ।

स्थानीय समुदायसँग सहकार्य गर्दै जनावरप्रति सहानुभूति र जिम्मेवारी बढाउने अभियानसमेत सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय