काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकार विद्यमान संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको मर्मअनुसार अघि बढ्न सरकार दृढ रहेको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै भने, “संविधानको सफलता यसलाई प्रयोग गर्ने नेतृत्वको निष्ठा र निरन्तर क्रियाशीलतामा निर्भर हुन्छ। संविधान जति नै उत्कृष्ट भए पनि यसलाई इमानदार र निष्ठावान् हातहरूले चलाएमा मात्र यसले जनतालाई सही परिणाम दिन सक्छ।”
यस्तै, देशमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको उनले बताए। “विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार पूर्ण रूपमा सचेत छ,” प्रधानमन्त्री शाहले भने, “भ्रष्टाचार र दण्डहीनताविरुद्धको अभियान केवल सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो सङ्कल्प अझ बलियो बन्दै गएको छ।”
प्रधानमन्त्री शाहले सुशासन प्रवर्द्धनका लागि प्रशासनिक संरचनालाई थप सुदृढ र चुस्त बनाउँदै भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अवलम्बन गरिएको प्रतिबद्धता समेत व्यक्त गरे।






