सोलुखुम्बु: सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ।
दुर्घटनामा न्युजिल्यान्डका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ।
त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
अवतरणका क्रममा भएको उक्त दुर्घटनाले खुम्बु क्षेत्रमा हवाई सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।



