रसुवाको भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको विनाशकारी बाढी प्रभावित बीमितहरूका लागि नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियामा ठूलो सहजीकरण गरेको छ। अब बाढी पीडितहरूले बीमा दाबी भुक्तानी लिनका लागि अनिवार्य मानिने मृत्यु दर्ता प्रमाणपत्र बिना नै भुक्तानी पाउने भएका छन्।
प्राधिकरणले जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई ८ बुँदे निर्देशन जारी गर्दै मृत्यु वा बेपत्ता पुष्टि गर्नका लागि मृत्यु दर्ताको सट्टा स्थानीय तहको सिफारिस, अदालतको घोषणा वा हकवालाको स्वघोषणालाई नै आधिकारिक मान्यता दिन निर्देशन दिएको हो।

मुख्य व्यवस्थाहरू:
मृत्यु दर्ता र कागजात झन्झटमुक्त: मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस वा हकवालाको स्वघोषणा भए पुग्नेछ। सक्कल बीमालेख नष्ट भएको भए कम्पनीको आफ्नै अभिलेखका आधारमा भुक्तानी गरिनेछ।
-
किस्ता र कर्जामा ६ महिना म्याद: बीमाशुल्क वा कर्जाको किस्ता बुझाउन बाँकी रहेका प्रभावितहरूलाई ६ महिनासम्म बिना कुनै ब्याज वा जरिवाना म्याद थपिनेछ।
-
सामान्य निवेदन र परिचयपत्र मान्य: नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा लालपुर्जा पेस गरेर दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन सकिनेछ।



