काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पहिलो त्रैमासिक अवधिका लागि ६२ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याइएकोमा १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो। बजेट खर्चको तुलनामा भौतिक प्रगति भने ३४.९ प्रतिशत पुगेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ भने एक हेक्टर जग्गा उकास गरिएको छ।

केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर चितवनले निर्धारित भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ।

यसैगरी लमही दाङले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर धनुषाले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।

महाशाखाका अनुसार नदी कटान नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि विभिन्न आयोजना सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय