काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। लामो समयदेखि पार्टी संगठन, महिला आन्दोलन तथा सामाजिक क्षेत्रमा सक्रिय भट्टले पार्टीलाई समयअनुकूल, समावेशी र विचारमुखी बनाउने एजेन्डासहित केन्द्रीय सदस्यमा आफ्नो दाबी अघि सारेकी हुन्।
भट्टले युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रममार्फत पार्टी र सरकारलाई रचनात्मक सहयोग गर्ने, नयाँ प्रविधिको विकाससँगै प्रविधिमैत्री साक्षरतामा जोड दिने तथा लैंगिक समानतालाई संस्थागत गर्न पहल गर्ने बताएकी छन्। महिला सशक्तीकरणलाई योजना, अवसर र सम्भावनासँग जोड्दै पार्टीभित्रको अस्वस्थ गुटबन्दीलाई स्वस्थ राजनीतिक प्रतिस्पर्धामा रूपान्तरण गर्ने उनको एजेन्डा छ।

कांग्रेस नै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समानताको संवाहक भएको विषयलाई समाजमा थप स्थापित गर्ने, वैज्ञानिक तथा सांस्कृतिक नीति र कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै नेतृत्वलाई खबरदारीसँगै रचनात्मक सहयोग गर्ने भट्टको प्रतिबद्धता छ।
भट्टको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएको हो। ज्ञानज्योति माध्यमिक विद्यालय गोरखाको स्कूल एकाइ समितिदेखि जिल्ला छात्रा विभाग गोरखा हुँदै पद्मकन्या नेविसंघको उपसभापतिको जिम्मेवारी सम्हालेकी उनले २०६२ सालदेखि साविक इचंगुनारायण कार्यसमिति सदस्यका रूपमा काम गरेकी छन्। २०७४ सालदेखि स्वर्गीय मुकुन्द रिजाल क्षेत्रीय सभापति हुँदा उनी आमन्त्रित क्षेत्रीय सदस्यका रूपमा समेत सक्रिय थिइन्।
२०७२ देखि २०८३ सम्म नेपाल महिला संघ काठमाडौं कार्यसमिति सदस्य रहेकी भट्ट हाल नेपाल महिला संघकी केन्द्रीय सदस्य छन्। १४औँ महाधिवेशनमा काठमाडौं–७ बाट खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएकी भट्ट १५औँ महाधिवेशनका लागि खुला महिलातर्फ ७५ प्रतिशत मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
अंग्रेजी साहित्यअन्तर्गत महिलावाद विषयमा विद्यावारिधिको अन्तिम चरणमा रहेकी भट्ट नागार्जुन नगरपालिकाको स्थापनाका लागि समेत सुरुदेखि नै सक्रिय थिइन्। नागरिक वडा मञ्च तथा एकीकृत योजना तर्जुमा समितिमा रहेर उनले स्थानीय तहमा सामाजिक तथा विकाससम्बन्धी काममा योगदान दिएकी छन्।
इचंगुनारायण सामुदायिक सेवा केन्द्रकी पूर्वसचिवसमेत रहेकी भट्ट सहारा बहुआयामिक सहकारीको स्थापनाकालदेखि कार्यकारी भूमिकामा सक्रिय रहँदै हाल सचिवको जिम्मेवारीमा छिन्। विभिन्न देशको अध्ययन तथा अनुसन्धान भ्रमणबाट प्राप्त अनुभवलाई समेत पार्टी संगठन र नीतिनिर्माणमा उपयोग गर्ने उनको भनाइ छ।
“गुटको घेराभन्दा माथि उठेर नीति, विचार र समानताको कांग्रेस निर्माण गर्नुपर्छ,” भट्टको जोड छ। अनुभव, महिला सशक्तीकरण र नयाँ पुस्ताको सहभागितालाई केन्द्रमा राख्दै उनले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजेकी हुन्।



