काठमाडौं:नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीले आफूलाई महामन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिले व्यक्त गरेको विश्वासलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा लिँदै बलियो, गतिशील र एकताबद्ध पार्टी निर्माणमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
१५औँ महाधिवेशनबाट व्यक्त मतले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै उनले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिनुपर्ने बताएका छन्। विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा एकजुट भई बलियो कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

मुलुकका जटिल समस्या समाधानमा नेपाली कांग्रेसले विगतमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै उनले वर्तमान राजनीतिक तथा आर्थिक चुनौती सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण आजको आवश्यकता रहेको बताएका छन्।कांग्रेसलाई आम नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविका र लोकतन्त्रको रक्षा गर्ने जनमुखी तथा भरोसायोग्य शक्तिका रूपमा रूपान्तरण गर्नु आगामी प्राथमिकता हुने उनको भनाइ छ।
महाधिवेशन सफल बनाउन अहोरात्र खटिने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी राजनीतिक यात्रामा प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।




