असोज ११, २०८३, काठमाडौँ । खोटाङका धिरेन राईले दोस्रो काठमाडौँ १० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि हासिल गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १० ले शनिवार र आइतबार २ दिन आयोजना गरेको वडाध्यक्ष कप चेस प्रतियोगिता स्विस लिग प्रणालीमा सञ्चालन भएको थियो । ९ चरणमा आयोजना भएको प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अङ्क जोड्नु भएको थियो ।

झापाका ज्वाला लिम्बुले ८ अङ्क सहित दोस्रो स्थान पाउनुभयो । मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्क सहित तेस्रो स्थान हासिल गर्नुभयो । समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो हुनुभयो । यसै गरी रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ हुनुभयो ।

प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा रहनुभयो ।

प्रतियोगितामा २ सय २० जना खेलाडीको सहभागिता थियो । प्रतियोगिता समापन अवसरमा वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले उपाधि विजेतालाई २६ हजार २ सय ५० र उप विजेताले २२ हजार ५ सय रुपियाँ पुरस्कार प्रदान गर्नुभयो ।

तेस्रो स्थान हासिल गर्नेलाई १८ हजार तथा चौथो हुनेलाई ११ हजार २ सय ५० रुपियाँ पुरस्कार प्रदान गरियो । पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपियाँ पुरस्कार पाउनुभयो । पुरस्कार वितरण गर्दै वडाध्यक्ष के. सी. ले प्रतियोगितालाई महानगर स्तरमा आयोजना गर्ने योजना रहेको बताउनुभयो ।
महिलातर्फ राधिका पौडेलले पहिलो स्थान हासिल गर्नुभयो । यस्तै कुसुम घिसिङले दोस्रो र अग्रता आचार्यले तेस्रो स्थान हासिल गर्नुभयो ।

वडा सचिव सुबोध खड्काका अनुसार प्रतियोगितामा ६ वर्षदेखि ७५ वर्ष माथिका खेलाडी सहभागी हुनुभएको थियो । वडाबाट आयोजना हुने यसप्रकारका खेल प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने कार्यक्रमका निर्देशक इन्द्र बस्नेतले प्रतिक्रिया दिनुभयो ।

प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय