काठमाडौं । हरेक वर्ष गौरा पर्वको अवसरमा सुदूरपश्चिमेलीहरूको जमघटले भरिभराउ हुने काठमाडौंको टुँडिखेल यसपालि भने सुनसान रह्यो। देउडाको भाका, सांस्कृतिक प्रस्तुति र भेटघाटको रौनक देखिएन।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशमा विषम परिस्थिति सिर्जना भएकाले यस वर्ष गौरा पर्वको सार्वजनिक कार्यक्रम नगर्ने निर्णय गरिएको प्रशंसा समूहकी पूर्वअध्यक्ष ज्वाला विष्टले बताइन्।

“भोटेकोशीमा बाढी आएपछि देशमा विषम परिस्थिति निम्तिएको छ। यस्तो दुःखद् घडीमा तीज र गौरा पर्व नमनाउने निर्णय गरेका हौँ,” विष्टले भनिन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा टुँडिखेलमा सुदूरपश्चिमेलीहरूको ठूलो जमघट हुन्थ्यो। सुदूरपश्चिमका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा देउडा खेलदेखि विभिन्न सांस्कृतिक कार्यक्रमसम्म आयोजना गरिन्थ्यो। टाढाटाढाबाट काठमाडौं आएका सुदूरपश्चिमेलीहरूका लागि यो पर्व भेटघाट र आफ्नो मौलिक संस्कृति साटासाट गर्ने महत्वपूर्ण अवसरसमेत बन्थ्यो।
तर यसपटक भने भोटेकोशी बाढीले निम्त्याएको मानवीय क्षति र पीडाबीच उत्सव मनाउनेभन्दा पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु उचित ठानिएको छ। बाढीपछि खोज तथा उद्धारको काम जारी रहे पनि प्रभावित परिवारमा परेको पीडा र आफन्त गुमाएकाहरूको शोकले देशलाई नै स्तब्ध बनाएको छ।
त्यसैले यसपालि टुँडिखेलमा देउडाको घेरा बनेन, बाजा गुञ्जिएन र गौरा पर्वको विगतको जस्तो उल्लास देखिएन।
दुःखमा साथ दिनु, पीडितप्रति संवेदना प्रकट गर्नु र आफ्नो खुसीलाई केही समयका लागि थाती राख्नु नै यसपालिको गौरा बनेको छ।
हरेक वर्ष संस्कृति र परम्पराले जोडिने सुदूरपश्चिमेलीहरू यसपालि भने उत्सवभन्दा मानवीय संवेदनालाई ठूलो बनाएर भोटेकोशीका पीडितसँग उभिएका छन्।
टुँडिखेलमा यसपालि देउडा गुञ्जिएन, तर मौनतामै एउटा सन्देश गुञ्जियो—देश दुःखमा हुँदा हाम्रो खुसीभन्दा पीडितको पीडा ठूलो हुन्छ।



