रसुवा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मतमा सरकारले तीव्रता दिएको छ।
मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये बाढीले ५३ वटा पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले स्थलगत निरीक्षण तथा प्राविधिक मूल्याङ्कन गरेपछि तीमध्ये २० वटा पुल तत्काल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

सरकारले ती पुलको मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरेको थियो। हाल महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भइरहेको छ। यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, बाढीका कारण पूर्ण रूपमा क्षति भई पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि भदौ १७ गते नै सरकारले बोलपत्र आह्वान गरिसकेको छ।
बाढीपछि प्रभावित क्षेत्रको आवागमन सहज बनाउन सरकारले क्षतिग्रस्त पुलहरूको मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।



