सुनिल कुमार शर्माको केएमसी बन्यो बाढीपीडितको सहारा, राहतको चाउचाउ बेचेर औषधि किन्ने सुरेशले पाए निःशुल्क औषधि
बाढीले सर्वस्व गुमाएपछि औषधि किन्न पैसा थिएन, केएमसीको शिविरमा पुगेपछि पाए उपचारसँगै औषधि
काठमाडौं – राहतमा पाएको चाउचाउ बेचेर नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्दै आएका सुरेशकुमार कारञ्जितले काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरमा पुगेपछि आफूलाई आवश्यक औषधि निःशुल्क पाए।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले घरसम्पत्तिसहित सर्वस्व गुमाएपछि कारञ्जितसँग औषधि किन्नेसमेत पैसा थिएन। विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्रीले खानेकुराको जोहो हुँदै आए पनि नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्ने पैसा नहुँदा उनी समस्यामा थिए। बाध्य भएर राहतमा पाएको चाउचाउ बेचेर त्यसबाट आएको पैसाले औषधि किन्दै आएका कारञ्जितले केएमसीको शिविरमा स्वास्थ्य परीक्षण गराएपछि चिकित्सकको सल्लाहअनुसार आवश्यक औषधि निःशुल्क पाए।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा. सुनीलकुमार शर्माको पहलमा केएमसीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर कारञ्जितजस्ता धेरै पीडितका लागि उपचारसँगै औषधिको अभाव टार्ने माध्यम बनेको छ। बाढीले घर, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका पीडितले खाद्यान्नलगायत राहत सामग्री पाए पनि नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधिको अभाव गम्भीर समस्या बनेको थियो।
विशेषगरी उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएका वृद्धवृद्धा तथा अन्य बिरामी उपचार र नियमित औषधिको अभावमा समस्यामा परेका थिए। कतिपय स्थानमा सामान्य औषधि उपलब्ध भए पनि चिकित्सकले सिफारिस गरेको औषधि नपाउने समस्या रहेको पीडितहरूले बताएका छन्। केएमसीले भने विशेषज्ञ चिकित्सकसहित प्रभावित क्षेत्रमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूको रोग र अवस्थाअनुसार आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराएको छ।
शिविरमा वृद्धवृद्धा, महिला, सुत्केरी, बालबालिका तथा दीर्घरोगीलगायत बाढी प्रभावित नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। उपचारका लागि टाढाको स्वास्थ्य संस्था पुग्न कठिन अवस्थामा रहेका पीडितका लागि विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै पुगेर सेवा दिन थालेपछि उनीहरूलाई ठूलो राहत मिलेको छ।
सर्वस्व गुमाएका पीडितका लागि उपचार खर्च जुटाउनु मात्र होइन, दैनिक सेवन गर्नुपर्ने औषधि किन्नु पनि चुनौती बनेको थियो। कारञ्जितको अवस्था त्यसको एउटा उदाहरण हो। पेट भर्न राहतमा पाएको चाउचाउसमेत बेचेर जीवन जोगाउन आवश्यक औषधि किन्नुपर्ने अवस्थामा पुगेका उनले केएमसीको शिविरमा आएपछि उपचारसँगै आफूलाई आवश्यक औषधि पनि निःशुल्क पाए।
कारञ्जितजस्तै अन्य धेरै बिरामीले पनि चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि निःशुल्क पाएपछि बाढीको पीडाबीच उपचार र औषधिको चिन्ता केही कम भएको बताएका छन्।
बाढीपीडितका लागि राहतको अर्थ खाद्यान्न र बस्ने ठाउँमा मात्र सीमित हुँदैन। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि समयमै औषधि पाउनु पनि जीवन जोगाउने महत्वपूर्ण आधार हो। सुनील शर्माको पहलमा केएमसीले सञ्चालन गरेको शिविरले उपचारसँगै आवश्यक औषधिसमेत उपलब्ध गराएपछि बाढीपीडितका लागि स्वास्थ्य उपचारको भरपर्दो सहारा बनेको छ।



