काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव फेरि चर्किएको छ। बजारमा ग्यास सहज रूपमा नपाउँदा सर्वसाधारणदेखि विद्यार्थी, दैनिक उपभोगमा निर्भर परिवार तथा चिया–नास्ता पसल सञ्चालन गर्ने व्यवसायीसमेत प्रत्यक्ष मारमा परेका छन्।

उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर ग्यास खोज्दै विभिन्न पसल तथा डिलर धाउन बाध्य छन्। तर अधिकांश पसलेले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेका छन्।

ग्यासको आवश्यकता परेमा सरकारले उपलब्ध गराएका सम्पर्क नम्बरमा फोन गर्न भनिए पनि उपभोक्ताको गुनासो भने फोन नै नउठ्ने रहेको छ। समस्या समाधानका लागि भनेर सार्वजनिक गरिएका नम्बरमा सम्पर्क गर्दा सेवा नपाएपछि उपभोक्तामा थप निराशा बढेको छ।

विशेषगरी डेरामा बस्ने विद्यार्थीहरू ग्यास अभावका कारण खाना पकाउनसमेत समस्या परेको बताउँछन्। त्यस्तै, बिहानदेखि साँझसम्म चिया, नास्ता तथा खाना बिक्री गरेर गुजारा चलाउने साना व्यवसायीहरू पनि ग्यास नपाउँदा व्यवसाय नै प्रभावित भएको गुनासो गरिरहेका छन्।

नेपाल आयल निगमले भने यसअघि एलपी ग्यासको आयात तथा आपूर्ति नियमित रहेको दाबी गर्दै आएको थियो। उपत्यकामा माग बढेपछि टेकुस्थित निगमको कार्यालयबाट समेत विभिन्न ब्रान्डका ग्यास बिक्री गर्ने व्यवस्था मिलाइएको थियो।

तर सरकारी दाबी र बजारको वास्तविक अवस्थाबीच फरक देखिएको उपभोक्ताहरूको गुनासो छ। पसलमा ग्यास नपाउने र समस्या परे सम्पर्क गर्न भनिएका सरकारी नम्बरमा समेत सहज रूपमा सम्पर्क हुन नसक्दा उपभोक्ता झनै समस्यामा परेका छन्।

सरकारले बजारमा ग्यासको वास्तविक अवस्था सार्वजनिक गर्दै आपूर्ति सहज बनाउन, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ताले ग्यास पाउने सुनिश्चित वातावरण बनाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय