काठमाडौं: चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
कार्यक्रमअन्तर्गत तत्काल प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, लत्ताकपडा, तिरपाल, स्वास्थ्य सामग्री, खोप तथा सरसफाइका सामग्री उपलब्ध गराइनेछ। साथै, नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा राहत शिविर स्थापना गरी दैनिक भोजन, प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था गरिनेछ।

बाढीका कारण घर पूर्णरूपमा क्षतिग्रस्त वा बस्न अयोग्य भएका परिवारका लागि सरकार र स्थानीय तहसँगको सहकार्यमा ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ।
दीर्घकालीन योजनाअन्तर्गत प्रभावित क्षेत्रमा स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिनेछ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले उद्धार र तत्काल राहतसँगै अस्थायी आवास, स्थायी पुनर्स्थापना तथा जनस्वास्थ्य तयारीसम्म प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुवै संस्थाले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित परिवारसम्म राहत र सहायता पारदर्शी तथा प्रभावकारी रूपमा पुर्याउने बताएका छन्।



