काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित केन्द्रीय मुख्यालय पुग्नुभएको छ।
उहाँ मुख्यालय पुग्दा त्यहाँ निकै भव्य र उल्लासपूर्ण स्वागत गरिएको छ।

लामिछानेलाई भाजपा कार्यालयमा पुष्पवृष्टि (फूलको वर्षा) र बाजागाजासहित भित्र्याइएको थियो।
उहाँको स्वागतका लागि भाजपाका नेता नितिन नविन आफैं उपस्थित भएर फूलको गुच्छा अर्पण गर्नुभएको थियो।
मुख्यालयमा सभापति लामिछाने र नेता नविनबीच भेटवार्ता र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
रवि लामिछाने भाजपा कार्यालय पुग्दाको माहोल निकै रोचक देखिएको थियो।
उहाँको स्वागतमा त्यहाँ स्थानीय नर्तकीहरूले परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो।
सो क्रममा नयाँ दिल्लीमा रहेका नेपाली समुदायका व्यक्तिहरू पनि भाजपा मुख्यालय पुगेका थिए।
उनीहरूले रास्वपा सभापति लामिछानेलाई खादा र माला लगाएर नेपालकै शैलीमा स्वागत तथा सम्मान गरेका थिए।
पछिल्लो समय दलहरूबीचको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई रास्वपाले प्राथमिकता दिँदै आएको छ।




