काठमाडौं । आधुनिक चिकित्सा प्रविधिको महत्वपूर्ण उपलब्धि मानिएको आईभीएफ सेवाबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले उल्लेखनीय सफलता हासिल गरेको छ । २०७८ पुसदेखि सुरु गरिएको सेवामार्फत हालसम्म ४२२ दम्पतीले उपचार लिइसकेका छन् । तीमध्ये ३४० जनामा भ्रुण स्थानान्तरण गरिएको र २१६ जनामा सफल गर्भधारण भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हालसम्म १०४ दम्पतीले स्वस्थ शिशु घर लैजान सफल भएका छन् । नोबेल अस्पतालकी आईभीएफ प्रमुख प्रा. डा. शान्ति सुवेदीका अनुसार अस्पतालमा विश्वस्तरीय प्रविधिसहित आईभीएफ, आईसीएसआई, भ्रुण संरक्षण, शुक्राणु फ्रिजिङलगायतका सेवा उपलब्ध छन् ।

नोबेल अस्पतालले अमेरिका, डेनमार्क र जापानबाट अत्याधुनिक उपकरण ल्याएर सेवा दिइरहेको जनाएको छ । आईभीएफ उपचारमा एक दम्पतीलाई करिब ३ देखि ४ लाख रुपैयाँ खर्च लाग्ने भए पनि मेडिकल कलेज भएकाले सकेसम्म कम खर्चमा सेवा दिने प्रयास भइरहेको अस्पतालको भनाइ छ ।




