काठमाडौं: पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खला खलबलिँदा भारतमा इन्धनको मूल्य आकासिएको छ।
भारतीय इन्धन कम्पनीहरूले पछिल्लो १० दिनभित्रै चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएका छन्।

मंगलबार भएको पछिल्लो मूल्यवृद्धिसँगै राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय भारु नाघेर १०२.१२ भारु पुगेको छ भने डिजेल ९५.२० भारु कायम भएको छ।
त्यस्तै, कोलकातामा पेट्रोलको भाउ ११३.५१ भारु र मुम्बईमा १११.२१ भारु पुगेको छ।
त्यहाँका पाँच राज्यको चुनाव सकिए लगत्तै आयल मार्केटिङ कम्पनीहरूले निरन्तर मूल्य बढाएका हुन्। विगत १० दिनको अवधिमा मात्रै भारतमा पेट्रोल प्रतिलिटर ७.४१ भारु र डिजेल ७.५१ भारुले महँगो भइसकेको छ।
भारतमा भएको यो तीव्र मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्न सक्ने देखिएको छ।




