काठमाडौं: पोखराको फिस्टेल डेरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादित ‘नोभा’ चकलेट आइसक्रिम (ब्याच नम्बर: सीओ-२) मा कैफियत देखिएपछि उक्त ब्याचका उत्पादन बजारबाट फिर्ता (रिकॉल) गर्न सुरु गरेको छ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सजग रहँदै तुरुन्तै बजारबाट सामान उठाउन थालिएको र आन्तरिक गुणस्तर प्रणालीलाई अझ मजबुत बनाएको जनाएको छ।

आइसक्रिम तापक्रम घटबढ हुँदा ब्याक्टेरियाको जोखिम बढ्ने प्राविधिक पक्षलाई मध्यनजर गर्दै फिस्टेल डेरीले फ्याक्ट्रीदेखि पसलसम्मकै ‘कोल्ड चेन’ अनुगमनमा कडाइ गरेको छ भने आफ्ना विक्रेताहरूलाई पनि भण्डारणमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
विगत १७ वर्षदेखि बजारमा स्थापित यो ब्रान्डले ग्राहकको विश्वासप्रति उत्तरदायी रहँदै आगामी दिनमा गुणस्तरको उच्च मापदण्ड पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।




